सुनको भाउ अहिलेसम्मकै उच्च, कतिमा कारोबार हुँदैछ ?

तु खबर संवाददाता
२०८० मंसिर १७,आईतवार १५:४५

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ अहिलेसम्मकै उच्चमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको हो ।

महासंघले आज १ हजार ८०० रुपैयाँले बढ्दै सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको जानकारी गराएको हो ।

भाउ बढेसँगै छापावाल सुन तोलामा १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँ कायम भएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा १ हजार ५४५ रुपैयाँ कायम भएको छ । यो गत शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो । गत शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।