स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर १६,शनिबार १४:५३
File Photo

बुटवल । रुपन्देहीमा आज बिहान स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार, बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । उनको भैरहवामा उपचार भइरहेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् ।