आज यी प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज केही प्रदेशमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार, आज कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
यस्तै, महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
