हेटौंडामा अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता सुरु

तु खबर संवाददाता
२०८० मंसिर १३, बुधबार १६:२३

मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको हो । उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बुधबार एक कार्यक्रमबीच गरेका हुन् ।

आगामी मंसिर १७ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा एक सय जना खेलाडी सहभागी रहेका छन् ।

उद्घाटन कार्यक्रम मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा संघका केन्द्रीय महासचिव धरम लामा, उपमहासचिव भोनालिसा खम्बु, प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की लगायतको सहभागिता रहेको थियो ।

सो प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौं र छैटौंदेखि दशौंसम्म हुनेले क्रमशः १ लाख २५ हजार रुपैयाँ, ७५ हजार रुपैयाँ, ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ, २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।