पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर ९,शनिबार १६:२३
file photo

विराटनगर । उदयपुरमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर बस चालक त्रियुगा नगरपालिका ५ का ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा परेर अन्य ३७ जना घाइते भएका छन् । तीममध्ये १२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीले दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको गाइघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।