केपी ओली टी–२० कपमा मकवानपुरका ४ खेलाडीले खेल्दै

तु खबर संवाददाता
२०८० मंसिर ६,बुधबार १०:२१

मकवानपुर । यही मंसिर ७ गते बिहीबारबाट पोखरामा सुरु हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ मा मकवानपुर जिल्लाका ४ खेलाडीले खेल्ने भएका छन् ।

उक्त प्रतियोगितामा मकवानपुरका शुभ कंसाकार, रामनरेश गिरी, रिजन ढकाल र गौरवले खेल्ने भएका हुन् । उनीहरुले बागमती प्रदेशको पुरुष क्रिकेट टिमको तर्फबाट उक्त प्रतियोगितामा सहभागी जनाउने भएका हुन् ।

बागमती प्रदेश क्रिकेट संघले सो प्रतियोगिता खेल्ने १४ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा उनीहरु पनि छनौट भएका हुन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगिता विजेता र उपविजेता टिमले क्रमशः ५ लाख रुपैयाँ र २ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजले ३० हजार रुपैयाँ, बेस्ट बलरले २० हजार रुपैयाँ र म्यान अफ द म्याचले ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।