माइतीघरमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध रिट दर्ता

तु खबर संवाददाता
२०८० मंसिर ५,मंगलवार १६:०२

काठमाडौं । माइतीघरमा निषेधज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले हालै निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन काठमाडौंको निर्णयविरुद्ध दुई वटा रिट निवेदन दर्ता भएको हो ।

उक्त निर्णयविरुद्ध अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन् ।

अधिवक्ता सिलवालले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका छन् ।

यसैगरी, अधिवक्ता नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई ३० दिनको लागि निषेधित क्षेत्रका रुपमा घोषणा गरेको थियो ।