इलाम बस दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर ४,सोमबार ०९:२३
file photo

विराटनगर । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटनामा परेर गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ ना ६ ख ८४२४ नम्बरको विद्यार्थी र शिक्षक सवार बस मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको हो ।

यससँगै उक्त दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेहरुमा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामा रहेको इलाम प्रहरीले जनाएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका ९ बाट आएको बस कन्यामबाट फर्कंने क्रममा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर अन्य ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् । घाइते उनीहरुको उद्धार गरी झापाका विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।