हेटौंडाको बुद्धचोकमा स्कुटरले ठक्कर दिँदा बिकको मृत्यु

मकवानपुर । मकवानपुरमा स्कुटरको ठक्करबाट शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ बाबुचोकस्थित धरान–चतरा सडकखण्डमा ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नं.को स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ४३ वर्षीय गोपिनी बिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, स्कुटरको ठक्करबाट बिक गम्भीर घाइते भएका थिए । घाइते उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले चालक हेटौंडा–१, पिपलबोट बस्ने अन्दाजी ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।