मनहरी–२ फुटबलको आज तीन खेल सम्पन्न, भोलि सेमिफाइनल

तु खबर संवाददाता
२०८० कार्तिक २४,शुक्रबार १७:५८

मकवानपुर । प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता मनहरी–२ को आज ५ औँ दिन ३ खेल सम्पन्न भएको छ ।

आज पहिलो खेल आयोजक खेलकुद विकास समिति मनहरी–२ (सी) र मनहरी –४ मसिनेबीच प्रतिस्पर्धा भएको थियो । जसमा १–० गोलको अन्तरलले मनहरी –४ मसिने विजय भई सेमिफाइनल खेलका लागि प्रवेश गरेको छ । उक्त खेलको म्यान अफ द म्याच मनहरी–४ मसिनेको उज्ज्वल बिष्टले प्राप्त गरे ।

त्यस्तै, आजै भएको दोस्रो खेलमा केदारेश्वर युवा क्लब मनहरी –९ ले जित हाँसिल गरेको छ । एफसी सिम्पानीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केदारेश्वर युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त खेलको म्यान अफ द म्याच केदारेश्वर युवा क्लबका खेलाडी दिपक कार्की भए ।

यसैगरी, आजै भएको तेस्रो खेलमा आयोजक खेलकुद विकास समिति मनहरी–२ ‘ए’ ले जित हाँसिल गरेको छ । खेलकुद विकास समिति मनहरी–२ ‘ए’ ले सुर्यकिरण युवा क्लबलाई ३–० गोलको अन्तरलले पराजित गर्दै सेमिफाइनलमा आफ्नो ठाउँ बनाएको हो । उक्त खेलको म्यान अफ द म्याच आयोजक खेलकुद विकास समिति मनहरी–२ का खेलाडी अशोक मोक्तान भए ।

यस्तै, भोलि कात्तिक २५ गते शनिबार सेमिफाइनल खेल हुने भएको छ । जसमा पहिलो खेल केदारेश्वर युवा क्लब मनहरी –९ र एफसी लामिटारबीच १ बजेदेखि सुरु हुनेछ ।

यस्तै, दोस्रो खेल आयोजक खेलकुद विकास समिति मनहरी–२ ‘ए’ र मनहरी–४ मसिनेबीच प्रतिस्पर्धा हुनेछ ।

खेलकुद विकास समिति मनहरी–२ ले नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा आयोजना उक्त प्रतियोगिता आगामी कात्तिक २७ गतेसम्म संचालन हुनेछ ।

त्रिरत्न प्राविको खेल मैदान मनहरी–२ मा संचालन भइरहेको उक्त प्रतियोगिताको विजेता समूहले ५० हजार ५५५ रुपैयाँ र उपविजेता समूहले २५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।