हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ तीनताप्केमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग सडकखण्ड अन्तर्गत शिद्वकालीबाट बस्तिपुरतर्फ आउँदै गरेको बा प्र ०२–०३९ प ७३०५ नम्बरको मोटरसाइक आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर मनहरी गाउँपालिका वडा नं.३ डोटे बस्ने २७ वर्षीय संजिब बलको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका संजिबको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परेर ३१ बर्षीय दिपक सिंह बल घाइते भएका छन् । घाइते दिपकको हेटौंडा अस्पतालमा नै उपचार भइरहेको र मृतक संजिबको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
