भूकम्प प्रभावितलाई बागमती प्रदेशमा कार्यरत कर्मचारीले सहयोग गर्ने

तु खबर संवाददाता
२०८० कार्तिक २१, मंगलवार १७:५९
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीले जाजरकोट र रुकुमपश्चि लगायतको जिल्लाका भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने भएको छ ।

मंगलबार बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको बैठकले भूकम्प पीडितहरूको राहत उद्धार र पुनः स्थापनाका लागि १ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले उक्त रकम बागमती प्रदेश अन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवम् सो सरहका पदाधिकारी, अधिकृत स्तरका कर्मचारी र अन्य सबै कर्मचारीबाट संकलन गरी कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमसहित ११ जिल्ला प्रभावित बनेको छ । उक्त भूकम्पमा परेर ठूलो मानवीय क्षतिका साथै भौतिक क्षति भएको छ ।