हेटौंडामा सवारी दुर्घटना, ६ जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडामा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । जिल्लाको हेटौंडा–८ र हेटौंडा–४ भएको छुट्टाछुट्टै दुर्घटनामा परेर उनीहरु घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित कर्रा पुल नजिकै आज दिउँसो सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
दिउँसो १ः२० बजेको समयमा रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना.४४ प.८९२० नम्वरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको ना १ ह ९३८९ नं.को अटो एकापसमा ठक्कर खादा मोटरसाइकल उच्छिटिन गई हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको साईकल यात्री समेतलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक हेटौंडा–१ चौकीटोल बस्ने अन्दाजी २२ वर्षीय महेश लामा, सोही मोटरसाइकलमा पछाडी सवार हेटौंडा–९ पशुपतिनगर बस्ने २६ वर्षीय गोबिन्द श्रेष्ठ र साईकल यात्री हेटौंडा–८ मैदाटोल बस्ने अन्दाजी ७० वर्षीय तिलक बहादुर बुढाथोकी रहेका छन् ।
घाइतेमध्ये मोटरसाइकल चालक महेशको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि सहकारी अस्पताल लगिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । उनका अनुसार, अन्य घाइतेहरुको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको छ ।
प्रहरीले अटो चालक हेटौंडा–८, कमाने बस्ने ५० वर्षीय राममणि घिमिरेलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
यसैगरी, आजै दिउँसो हेटौंडा–८ गौरीचोकस्थित भएको सवारी दुर्घटनामा परेर तीन जना घाइते भएका छन् ।
कमानेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २१ प ९६४६ नम्वरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएको मकवानपुर प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
घाइते हुनेहरुमा पैदलयात्री सोही ठाउँ बस्ने अन्दाजी १९ वर्षीया रेखा पुर्रकुटी, मोटरसाइकल चालक हेटौंडा–१७ हटिया बस्ने १८ वर्षीय हिमाल भुजेल र मोटरसाइकलमा सवार हेटौंडा–७ नागस्वति बस्ने २२ वर्षीया गोमा तिमल्सिना रहेका छन् ।
घाइते तीनै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
