भुकम्प प्रभावित क्षेत्रमा ५/५ करोड उपलब्ध गराउने सरकारको निर्णय

तु खबर संवाददाता
२०८० कार्तिक १८, शनिबार १७:०३
file-photo

काठमाडौं । सरकारले जाजरकोट र रूकुम पश्चिमको भुकम्प प्रभावित क्षेत्रमा खोज, उद्दार तथा उपचारका लागि ५/५ करोड उपलब्ध गराउने निर्णय गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा दिने भन्दै सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषामा उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने भएको हो ।

सरकारले भुकम्पमा परेर घाइते भएकालाई औषधि तथा विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, अत्यावश्यक औषधि उपकरहरू छिटो साधनमार्फ तत्काल परिचालन गर्ने र थप उपचारका लागि आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्ने जनाएको छ ।

यस्तै, सरकारले प्राथमिक राहत व्यवस्थापनका लागि खाद्यान्न, अस्थायी आवास (टेन्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लिपिङ ब्याग आदि), सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा रहेका भण्डारणबाट भुकम्प प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्ने निर्णय गरेको छ ।