भारतमा भएको सवारी दुर्घटनामा परेर पाँच जना नेपालीको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक १७,शुक्रबार १६:५४

सुर्खेत । भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा गएराति सवारी दुर्घटनामा परेर पाँच जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र उनका भाइको श्रीमती (बुहारी) सुस्मिता नेवार रहेका छन् ।

दुर्घटनामा परेर रोजगारीको सिलसिलामा भारत गएका उनीहरुको ट्रकको ठक्करबाट मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिए ।

उनका अनुसार, मृतक पाँचै जना एकै परिवारका सदस्य हुन् । मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए ।

उनीहरू स–परिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए । भेटेर फर्किने क्रममा रतनले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनीहरुको घटनास्तलमै मृत्यु भएको जनाइएको छ ।