मकवानपुर प्रहरीद्वारा १६० बिगाहा १ कठ्ठामा लगाइएको गाँजा खेती नष्ट
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानमा लागइएको लागूऔषध गाँजा तथा अफिम खेती नष्ट गरेको छ ।
प्रहरी टोली परिचालन गरी जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको १६० बिगाहा १ कठ्ठामा गाँजा तथा अफिम खेती नष्ट गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाइएको गाँजा र अफिम खेती नष्ट गर्नको लागि गत आइतबारबाट १३७ जना प्रहरी टोली परिचालन गरेको थियो ।
ती परिचालित प्रहरी टोलीले आइतबार ३ बिगाहा, ८ कठ्ठा, सोमबार ६१ बिगाहा, ३ कठ्ठा, मंगलबार ५७ बिगाहा १५ कठ्ठा र बुधबार ३७ बिगाहा १५ कठ्ठामा लगाइएको गाँजा तथा अफिम खेती नष्ट गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
ती प्रहरी टोली बुधबार साँझ फर्किएको र केही दिनपछि फेरी अर्को टोली परिचालन गरी गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यलाई तीब्रता दिइने उनको भनाई छ ।
