बागमती प्रदेश : दसैं अवधिमा दुर्घटनामा परेर ६ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा दसैंको अवधिमा सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । सो अवधिमा प्रदेशको विभिन्न तीन जिल्लामा ६ वटा सवारी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
प्रदेशको मकवानपुरमा ४ वटा, चितवनमा र नुवाकोटमा १/१ वटा सवारी दुर्घटना भएको थियो । तीमध्ये मकवानपुर, चितवन र नुवाकोटमा भएको सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
दुर्घटना नं. १
गत कात्तिक ८ गते बुधबार मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएका थियो । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–२७, महाबौद्धकी ६२ वर्षीया राज्यश्री थापा क्षेत्री रहेका छन् ।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०२–०२७ प ४८४२ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा सोही दिन हेटौंडा अस्पतालमा मृत्यु भएको थियो । स्कुटर चालक थापाका श्रीमान् ६५ वर्षीय शशीराज पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना नं. २
गत कात्तिक ९ गते बिहीबार पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेमा चुरियामाइतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्बरको क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा क्रेनका सहचालक विरगञ्ज महानगरपालिका–३०, विश्रामपुर बस्ने १८ वर्षीय विपिन महतो रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते महतोको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परेर क्रेनका चालक लालपर्सा बस्ने ३० वर्षीय दशरथ पासवान सामान्य घाइते भएका थिए ।
दुर्घटना नं. ३
गत कात्तिक १० गते त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–१, बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा भीमफेदी गाउँपालिका–६ का ३४ वर्षीय सुमिन लामाको मृतयु भएको थियो ।
भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको ना १७ प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खस्दा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतक सुमिन मोटरसाइकलका सहचालक हुन् । सोही दुर्घटनामा परेर मोटरसाइकल पछाडी बस्ने ३० वर्षीय रोमन बस्नेत घाइते भएका छन् । घाइते बस्नेतको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना नं. ४
गत कात्तिक ८ गते बुधबार मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–७, लामिटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बागमती गाउँपालिका–६, ठाडोखोलाका २२ वर्षीय सन्तोष दर्लामी रहेका छन् ।
बागमती गाउँपालिकाको झुरझुरेबाट हेटौंडातर्फ आउँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका सन्तोषको उपचारको क्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा शुक्रबार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागमती गाउँपालिका–६, ठाडीखोलाका २२ वर्षीय प्रदीप लोप्चन भने सामान्य घाइते भएका थिए ।
दुर्घटना नं. ५
गत कात्तिक ९ गते बिहीबार राति चितवनको खैरहनी नगरपालिका–१ बहेरा चोकको पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको थियो । मृत्यु हुनेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५, का २३ वर्षीय आनन लामा रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख २३५४ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना हुँदा गम्भीर घाइते भएका लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना नं. ६
गत कात्तिक ९ गते बिहीबार नुवाकोटको बेलकोटगढी नगरपालिका–७, बुद्धसिङ घाटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५० वर्षीया साबित्रा अधिकारी रहेको प्रहरी जनाएको छ ।
बिहीबार बिहान त्रिशुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५७९३ नम्बरको बसले तारुकाबाट बिदुर आउँदै गरेको बा प्र ०३–००४ प ९२१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साबित्रा गम्भीर घाइते भएका थिए ।
घाइते साबित्राको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परेर मोटरसाइकलका चालक २३ वर्षीय अर्जुन अधिकारी घाइते भएका छन् । घाइते अर्जुनलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ रिफर गरेको प्रहरीले जनाएको छ ।
