दुर्घटनामा परेर गम्भीर घाइते मकवानपुरका युवकको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक १२, आईतवार ०८:३३
सांकेतिक तस्वीर

मकवानपुर । मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ६ ठाडीखोला बस्ने अन्दाजी २२ वर्षीय सन्तोष दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गत कात्तिक ८ गते बागमती–७ लामिटारस्थित मदन भण्डारी लोकमार्गमा झुरझुरेबाट हेटौंडातर्फ आउँदै गरेको ना.३० प ३४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिन गई दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका दर्लामीको अन्नपुर्ण न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा कात्तिक १० गते शुक्रबार राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

दर्लामीको शुक्रबार नै मृत्यु भएपनि प्रहरीलाई भने कात्तिक ११ गते शनिबार मात्रै जानकारी आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलमा पछाडी सवार बागमती गाउँपालिका–६, ठाडीखोला बस्ने अन्दाजी २०–२२ वर्षीय प्रदिप लोप्चन घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरीले उक्त दुर्घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।