दुर्घटनामा परेर एक जनाको मृत्यु
धनुषा । धनुषामा शनिबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिका–६ ढल्केवरमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मिथिला नगरपालिका–१ का २८ वर्षीय राकेश राउत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ७९ प ४७५५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ज २ प ८३०१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा राउत गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको जनकपुरस्थित काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक राउत बा ७९ प ४७५५ नम्बरको मोटरसाइकलका चालक हुन् ।
यस्तै, उक्त दुर्घटनामा परेर सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका अजितकुमार यादव, र ज २ प ८३०१ नम्बरको मोटरसाइकलमा सवार मिथिला नगरपालिका–६ ढल्केवरका ३८ वर्षीय अभय श्रेष्ठ, उनकी श्रीमती ३२ वर्षीया मन्दिर श्रेष्ठ र १० वर्षीय छोरा आर्यन श्रेष्ठ घाइते भएका छन् ।
घाइते उनीहरुको ढल्केवरको स्थानीय क्लिनिकमा उपचार भइरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
