बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

तु खबर संवाददाता
२०८० कार्तिक १०, शुक्रबार १५:५०
File Photo

रौतहट । माधवनारायण नगरपालिकाको फुलबरिया गाउँमा यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौंबाट माधोपुर हुँदै गंगा पिप्रा जाँदै गरेको ना ६ख १४६३ नम्वरको रात्री बसले शुक्रबार बिहान ५ बजेको समयमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बसको ठक्करबाट स्थानीय ६५ वर्षिय ब्रम्ह्देव दासको मृत्यु भएको हो । घर अगाडि बसेर घुरो ताप्दै गरेका दासलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

उक्त बस सहचालकले चलाएको र दासलाई ठक्कर दिएपछि बस अनियन्त्रित हुँदै घर भित्र छिरेको थियो । त्यसपछि बसको ठक्करबाट घरभित्र सुतिरहेका ५५ वर्षिय फेकु दास र ५० वर्षीया सुमित्रा देवी दास घाइते भएको जनाइएको छ ।

घाइते दुबै जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।