मकवानपुरमा अटो दुर्घटना हुँदा ७ जना घाइते, दुईको अवस्था गम्भीर

तु खबर संवाददाता
२०८० कार्तिक ९, बिहीबार १३:१७
File Photo

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ दुम्सीडाँडास्थित भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

दुम्सीडाँडाबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह ५१७४ नम्वरको अटो आफैं अनियन्त्रित भई सडकबाट करिब ३० फिट तल खसेर दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते हुनेहरुमा मकवानपुरगढी–७, सुकौरा बस्ने २३ वर्षीया मनिता मोक्तान, उनकी २ महिनाकी छोरी जानुका जिम्बा, २९ वर्षीय कृष्णबहादुर योञ्जन, उनको छोरी ८ वर्षीया सारोक्षा योञ्जन, २६ वर्षीया दिलमाया योञ्जन, २२ वर्षीया हिरामाया योञ्जन र २२ वर्षीय विकाश योञ्जन मुक्तान रहेका छन् ।

घाइतेमध्ये मनिता र उनकी दुई महिने छोरीको अवस्था गम्भीर रहेको छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, अन्य घाइतेहरुको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको छ ।