दुर्घटनामा परेर युवतीको मृत्यु
काभ्रे । काभ्रेको पनौतीमा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा ईलेक्ट्रोनिक गाडी बुधबार बिहान नालीमा खसेर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
पनौती नगरपालिका–५ सुन्दरबस्तीमा बा.प्र.०३–००१ ज ०२९८ नम्बरको गाडीले बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना हुँदा युवतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गाडीमा सवार रामेछापको मन्थली नगरपालिका–१२ बस्ने २० वर्षीया रमिला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका गाडी तथा मोटटरसाइकलमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
