चैनपुर जेसीज कप : केदारेश्वर र पुलिस फाइनलमा
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ९ रजैयाको केदारेश्वर युवा क्लव र बागमती प्रदेश प्रहरी गण प्रथम चैनपुर जेसीज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको सेमिफाइनल खेलमा रजैयाले सिमपानी एफसी मनहरीलाई र पुलिसले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो ।
पहिलो खेलमा रजैयाले सिमपानीलाई १–० ले हराएको हो । खेलमा प्रयास तामाङले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तामाङले दोस्रो हाफमा गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता तामाङ नै भएका छन् ।
यस्तै, दोस्रो खेलमा प्रहरीले सयपत्री क्लबलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । टाइब्रेकरमा पुलिसको ४ वटा प्रहार गोल हुँदा सयपत्रीको २ जनाले मात्र गोल गरेका थिए । सयपत्रीको एउटा प्रहार बाहिरिएको थियो भने एउटा प्रहार बारमा लागेर फर्किएको थियो ।
खेलको म्यान अफ द म्याच प्रदेश प्रहरी गणका विशाल थिङ घोषित भए । यही कात्तिक १ गते दिउँसो १ बजेबाट फाइनल खेल हुने आयोजक जेसीआई चैनपुर प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए ।
१६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताको फाइनलकै दिन जेसीज सप्ताहको समापन समेत हुनेछ ।
