हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड संचालनमा आयो

तु खबर संवाददाता
२०८० आश्विन २५,बिहीबार १६:३७

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड संचालन आएको छ ।

अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी आजबाट २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड संचालनमा ल्याएको हो । अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड संचालनमा ल्याउने भएको हो ।

उक्त वार्डको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो क्रममा उनले हेटौंडा अस्पातललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा विकास गरिने बताए । मानसिक स्वास्थ्यका कारण पनि आत्महत्या धेरै बढेकाले यसको न्यूनीकरणका लागि उपचार सेवा थप गर्नुपरेको उनको भनाई छ ।

यस्तै, प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशी र प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले अब आजबाट महगो मुल्यमा हेटौंडाका निजी मेडिकलहरुमा मानसिक रोग लागेका बिरामीहरुको उपचार गर्नुपर्ने समस्या हटेको बताए ।

पहिले देखिनै अस्पतालमा ओपीडीमा आएका मानसीक समस्या भएका बिरामीहरुको उपचार गरिँदै आएको भएपनि अब भने भर्नानै गरेर उपचार गर्नका लागि सुरुवात गरिएको उनीहरुको भनाई छ ।

सो वार्ड संचालनका लागि एक जना विशेषज्ञ चिकिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको अस्पतालले जनाएको छ ।

हेटौंडा अस्पतालले मानसिक स्वास्थ्य उपचारका लागि २ बजेदेखि ५ बजेसम्म विस्तारित ओपीडी सेवा संचालन गर्ने जनाएको छ ।

प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौंडामा रहेको मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुर्नस्थापना केन्द्र स्थापनाको तयारीसमेत भइरहेको छ ।