डेंगू संक्रमितको संख्या ह्वात्तै बढ्यो

तु खबर संवाददाता
२०८० आश्विन २३, मंगलवार १८:०२
file-photo

काठमाडौं । नेपालमा डेंगू संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो दुई दिनमा १५ सय बढीमा डेंगू संक्रमण पुष्टि भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ ।

ईडीसीडीको तथ्याङ्कअनुसार, पछिल्लो २ दिनमा १ हजार ५२१ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । यससँगै देशभर हालसम्म ३६ हजार ७४४ जनामा डेंगू सङ्क्रमण पुष्टि भएको छ ।

दुई दिन अघि ईडीसीडीले प्रकाशन गरेको तथ्याङ्कमा सङ्क्रमित सङ्ख्या ३५ हजार २२३ जना सङ्क्रमित थिए ।

आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।

सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेका छन् । त्यहाँ २३ हजार ७०५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी, बागमती प्रदेशमा ४ हजार ८५३ जना, गण्डकी प्रदेशमा ५ हजार ७५४ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ७९ जना, मधेस प्रदेशमा ५८५ जना, लुम्बिनी प्रदेशमा ६४५ जना र कर्णाली प्रदेशमा १२३ जनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।