मनहरीमा पनि अत्यावश्यक बाहेकका सेवा ठप्प

तु खबर संवाददाता
२०८० आश्विन २३, मंगलवार ०८:४९

मकवानपुर । पछिल्लो समय स्थानीय तहका कर्मचारीहरु आन्दोलनरत छन् । स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको मानमर्दन हुने गरी ऐन विहिनताको अवस्था भएको भन्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रीएका हुन् ।

सो को विरोध गर्दै गत असोज १९ गतेदेखि काठमाण्डौस्थित माइतीघर मण्डलामा कर्मचारीहरु प्रदर्शन गरीरहेका छन् । साही बमोजिम सोमदेखि मनहरी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले पनि अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छन् ।

सोमबार गाउँपालिकाका कार्यबाहक अध्यक्ष शिव प्रसाद खनाल र निमित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईलाई आफ्नो मागसहितको ज्ञापन पत्र बुझाउँदै सेवा पेन डाउन गरिएको घोषणा गरे । ११ बुँदे माग राख्दै सम्बोधन नभए सम्मका लागि सेवा ठप्प गरीने वडा नं ५ का सचिव विदुर पाठकले जानकारी दिए ।

यता ज्ञापनपत्र बुझ्दै कार्यबाहक अध्यक्ष खनालले कर्मचारीहरुको अधिकारको लागि आफुले पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कर्मचारीहरुले स्थानीय जनतालाई सेवा दिएकै कारण आफु जनप्रतिनिधिहरु सफल हुने भएकाले अत्यावश्यक सेवा नरोकिदिन उनले आग्रह गरे ।

यस्तै, गाउँपालिकाका निमिति प्रमुख प्रशासकीय अधिकृत भट्टराईले स्थानीय तहका कर्मचारीहरुको जायज मागहरु पूरा हुनुपर्ने घरणा व्यक्त गरे ।

कर्मचारीहरुले गाउँपालिका अगाडि कालो व्यानरमा आफ्नो मागहरु राखेर केहिबेर शान्तीपुर्ण ढङ्गले प्रदर्शन गरेका थिए ।