बागमती प्रदेश सभाबाट दुई वटा विधेयक पारित

तु खबर संवाददाता
२०८० आश्विन २२, सोमबार १९:४६

मकवानपुर । बागमती प्रदेश सभाको आज साँझ बसेको बैठकबाट दुई वटा विधेयक पारित भएको छ ।

बैठकबाट प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले संचारसम्बन्धी र संस्कृती, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले सरकारी कामकाजको भाषासम्बन्धी विधेयकलाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसैगरी, बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिका जेष्ठ सदस्य याङ्किला शेर्पाले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेकी थिइन् ।

प्रदेश सभा सभामुख भुवन कुमार पाठकले प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गरे ।