थाहा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा ठप्प
मकवानपुर । संघीय निजामती विधेयकको विरोधमा मकवानपुरको थाहा नगरपालिकामा पनि सरकार विरुद्ध विरोध प्रदर्शन भएको छ ।
असार १८ गतेबाट आन्दोलनमा रहेका देशभरका स्थानीय तहका कर्मचारीहरुले पेनडाउनसहित विरोधमा उत्रिएका हुन् । असोज १९ गतेबाट स्थानीय तहहरुमा अत्यावश्यक बाहेकको कामकाज बन्द गरी आन्दोलनमा रहेका छन् ।
थाहा नगरपालिकामा कार्यरत कर्मचारीहरुले असोज २२ गते विहान (आज) नगर प्रमुख विष्णु बहादुर विष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छन् ।
स्थानीय तह संघर्ष समिति थाहानगरका संयोजक अनिल लामिछानेको नेतृत्वको कर्मचारीहरुको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख विष्टले कर्मचारीलाई आन्दोलन गर्न बाध्य नबनाई जायज माग पूरा गर्न संघीय सरकारले अनुरोध गरे ।
‘म आफै नगरपालिका संघको सदस्य हुँ, संघले कर्मचारीको आन्दोलनमा ऐकेवद्धता जनाइ सकेको छ’– प्रमुख विष्टले भने ।
‘थाहानगरका अधिकांश कर्मचारी आन्दोलनमा सहभागी हुन काठमाण्डौ गएका छन् । पालिकाको अत्यावश्यक सेवा प्रवाहका लागि कार्यालयमा बसेका केही कर्मचारीहरु पनि हातमा कालो पट्टी बाँधेर सेवा दिइरहेका छन्,’ संघर्ष समिति संयोजक लामिछानेले भने ।
कर्मचारीहरुले नगरपालिका अगाडि कालो व्यानरमा आफ्नो मागहरु राखेर केहिबेर शान्तीपुर्ण प्रदर्शन गरेका थिए । स्थानीय तहमा कार्यरत कर्मचारीहरुकोे विषयलाई मन्त्रीपरिषदबाट पारित निजामती विधेकमा नसकेटिएको बताउँदै कर्मचारीहरु सिहदरवार केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरु ८ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा सडक आन्दोलन गर्दै आएका छन् ।
