मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको छ ।
मकवानपुर प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले उक्त योजना अन्तर्गत प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा विषेश फोर्स परिचालन गर्ने जानकारी दिए ।
उनका अनुसार, १५ जना सम्मिलित उक्त विशेष फोर्सले यातायात व्यवस्थापन, यात्रु तथा आम नागरिकको सहायता, दुर्घटना र अपराधजन्य तथा गैरकानुनी कामहरु नियन्त्रण गर्नेछन् ।
घटना हुन नदिने, तत्काल उद्धार तथा व्यवस्थापन र प्रहरी परिचालनका लागि आवश्यक सामग्रीसहित उक्त फोर्स २४ सै घण्टा खटाइने उनको भनाई छ ।
जिल्लामा प्रदेशको राजधानी समेत रहेको, प्रदेश स्तरीय मन्त्रालय, कार्यालय, निवास र भीआइपी र भीभीआइपिहरुको समेत सुरक्षा व्यवस्था मिलाउनु पर्ने, हेटौंडासंग ५ वटा राजमार्ग जोडिएको र सेवाग्राहीहरुको समेत चाप हुने भएकाले सो सुरक्षा चुनौतिलाई समाधान गर्न योजना बनाएर कार्यान्वयनमा ल्याएको उनले बताए ।
उनका अनुसार जिल्लामा चाडपर्व सुरक्षा योजना अनुसार २१५ प्रहरी कर्मचारी अपुग हुने र सो प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशबाट सहयोग प्राप्त हुने उनले बताए ।
साथै चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी उपरीक्षकको कमाण्डमा १० जना प्रहरी कर्मचारी, प्रहरी नायव उपरीक्षकको नेतृत्वमा २० जना रिजर्भ टोली खटाइने उनले बताए ।