जितिया पर्व आज सकिँदै

तु खबर संवाददाता
२०८० आश्विन २०, शनिबार ०९:२२
file-photo

धनुषा । हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो ।

ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ ।

महिलाहरु व्रतको विधि पालना गर्दै बिहीबार नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको पीना (खैर), मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् ।

उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाने चलन छ । शुक्रबार बिहान ४ बजेवाट निराहार बसी शनिबार विहान १० बजेपछि नवमी तिथी प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुनेछ ।