हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

तु खबर संवाददाता
२०८० आश्विन १९, शुक्रबार १७:१६

मकवानपुर । मकवानपुरको हेटौंडामा शुक्रबारबाट १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा सुरु भएको हो ।

हेटौंडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३ सय खेलाडी सहभागी रहेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६२ केजी तौलसम्म तथा महिलातर्फ २० केजीदेखि ५८ केजी तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिता मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।

कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, सदस्य शोभा घिमिरे, मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष सुशील घिमिरे, मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा, मकवानपुर जिल्ला हक्की संघका अध्यक्ष प्रतापसिं क्षेत्री, मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयका प्रमुख माधव कोइरालाको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको विजेता र उपविजेता समूहले शिल्ड प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको लागि टाढाबाट आएका खेलाडीका लागि जिल्ला खेलकुद विकास समितिले आवासको व्यवस्था समेत गरिदिएको जनाएको छ ।