बागमती मन्त्रिपरिषद् : चलचित्र विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृती प्रदान

तु खबर संवाददाता
२०८० आश्विन १५, सोमबार १८:२१
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले चलचित्र विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ ।

सोमबार बसेको प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै, बैठकले हस्तकला ग्राम स्थापना तथा संचालन गर्न बनेको विद्येयक २०८० प्रदेश सभामा पेश गर्न सहमती प्रदान गरेको छ । यसअघि अध्यादेशबाट जारी भएको उक्त विद्येयक पुनः विद्येयकका रुपमा संसद पठाउने सरकारको तयारी गरिएको उनले बताए ।

यसैगरी, बैठकले प्रदेश सरकार स्थापना पश्चात निर्माण भएका विभिन्न २१ वटा निकायहरुको अस्थायी दरवन्दीलाई स्थायी गर्ने प्रक्रिया अघि बढाउने कर्मचारीहरुको दरवन्दी तेरिज स्वीकृत गरेको छ ।

उक्त बैठकले प्रदेश सुशासन केन्द्र स्थापना तथा कार्य संचनालन आदेश २०७७ संशोधन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।