अमेरिकाले भिसा बिनै इजरायलीलाई प्रवेश गर्न दिने

एजेन्सी
२०८० आश्विन १२, शुक्रबार १५:४८

वासिङ्टन । अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले यस्तो घोषणा गरेको हो ।

आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायली नागरिकलाई तीन महिनासम्म अमेरिकामा बस्ने अनुमति प्राप्त हुनेछ । तर, निजले अमेरिका प्रवेश गर्नुअगावै आफ्नो भ्रमणको अभिलेख अध्यागमन विभागमा दर्ता गराउनुपर्नेछ ।

बाइडेन प्रशासनको यो घोषणाबाट इजरायलले अमेरिकामा प्रतिष्ठित स्थान प्राप्त गरेको छ । संसारका एक सय ९३ भन्दा बढी मुलुकमध्ये करिब ४० देशलाई मात्र अमेरिकाले ‘भिसा लिनु नपर्ने’ सुविधा र सम्मान दिएको छ ।