आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

तु खबर संवाददाता
२०८० आश्विन ११, बिहीबार ०८:११

काठमाडौं । आज विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।

यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ ।

फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए । यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाउन थालेको थियो ।