बागमतीका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार सेवा प्रदान गर्ने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएकोे हो ।
मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. खगेश्वर गेलालका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ ।
यसबारे मन्त्रालयले निर्देशिका बनाएर मन्त्रिपरिषद्बाट पारित गरी प्रदेश राजपत्रमा प्रकाशित गरिसकिएको र केही दिनमै प्रदेश निर्देशनालयमा कार्यान्वयनका लागि पठाइने र निर्देशनालयले १३ वटा जिल्ला स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने उनको भनाई छ ।
यससँगै हेलिकप्टर कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइने उनले बताए । मन्त्रालयले प्रदेशका १३ वटा प्रदेश अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र धुलिखेल अस्पतालमा पुर्याइएर उद्धार गरिएका गर्भवती र सुत्केरीको उपचारको व्यवस्था पनि गरेको छ ।
