आज देशभर आंशिकदेखि सामान्य बदली रहने

तु खबर संवाददाता
२०८० आश्विन १०, बुधबार ०९:२७
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको जनाएको छ ।

महाशाखाका अनुसार, आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, भोलि बिहीबार पनि देशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।