मकवानपुरमा डेंगू संक्रमितको संख्या ५२१ पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५२१ पुगेको छ ।
जिल्लामा मंगलबार थप १३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ५२१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २ जना, थाहा नगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका ७ जना, भीमफेदी र बकैया गाउँपालिकाका १/१ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ३६० जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका दुई जना, मकवानपुरगढी गाउँपालिकाका १० जना, बागमती गाउँपालिकाका २२ जना, मनहरी गाउँपालिकाका ४९ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका १२ जना, बकैया गाउँपालिकाका १६ जना र राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।