मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढ्न थाले
मकवानपुर । मकवानपुरमा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र विभिन्न गाउँपालिकाका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।
जिल्लाको हेटौंडामास्थित रहेको एक मात्र जिल्ला अस्पतालमा अहिले दैनिक १ सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि आउने गरेको अस्पतालले जनाएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित उक्त अस्पतालको ओपिडीमा परीक्षण गर्न आएकामध्ये हाल ८५ जना बिरामीलाई आन्तरिक कक्षमा भर्ना गरी उपचार भइरहेको अस्पतालमा मेसु डा.रामचन्द्र सापकोटाले जानकारी दिए ।
उनका अनुसार जिल्लाको दुर्गम क्षेत्रबाट पनि भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।
स्थानीय पालिकामा रहेका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायत निजी अस्पतालमा समेत केहीदिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालयका अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।
उनले जिल्लाका सबै स्वास्थ्य कार्यालय तथा स्वास्थ्यमा आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्पर्कमा राखी छिटोछरितो उपचार सेवा पुर्याउन निर्देशन दिइसकेको बताए ।