जसपाले आजदेखि विधान अभिमुखीकरण कार्यक्रम गर्ने

तु खबर संवाददाता
२०८० आश्विन ७, आईतवार ०९:१०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आजदेखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

जसपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रतिनिधि जुम एपमार्फत अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार, अभिमुखीकरण कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, पार्टीका राजनीतिक समिति सदस्यद्वय आङकाजी शेर्पा र खगेन्द्र माखिमले विधानबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

कार्यक्रमको आयोजक पार्टी सम्बद्ध प्रवास विशेष प्रदेश समिति रहेको छ । जसपाको अमेरिका, बेलायत, इजरायल, थाइल्याण्ड, पोर्चुगल, युएई, कतार, कुवेत, हङ्कङ, बहराइनलगायतका मुलुकमा प्रवास सङ्गठन रहेको बस्नेतले जानकारी गराए ।