प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै

तु खबर संवाददाता
२०८० आश्विन ७, आईतवार ०८:४६
file-photo

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् ।

प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्ने भएका हुन् । उनलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् ।

विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने छन् । उनको बसोबासको प्रबन्ध सोही स्टेट गेस्ट हाउसमा मिलाइएको छ ।

यस्तै, आजै अपराह्न ४ बजे नेपाल–चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीहरुसहित नेपालबाट गएका उद्योगी व्यवसायीहरुसमेतको टोली सहभागी हुनेछ ।

त्यसपछि पौने ६ बजे उनी बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् । भोलि सोमबार समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।