पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असोज १० गतेसम्म लगाइने
काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ आगामी असोज १० गतेसम्म लगाइने भएको छ ।
यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म लगाइने भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए ।
डा. गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको बताए । उनका अनुसार यसअघि पनि बिदा परेकाले विद्यार्थी खोप लगाउन नआएपछि पाँच दिन थप गरिएको थियो ।
डा. गौतमका अनुसार, अहिलेसम्म ६४.४३ किशोरीले मात्र एचपिभी खोप लगाएका छन् । सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेकामा अहिलेसम्म छ हजार चार सय ४२ किशोरीले खोप लगाइसकेका उनले बताए ।
यही भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रुपमा सञ्चालन गरिएको छ । खोपको पहिलो मात्रा अहिले दिइने र छ महिनापछि दोस्रो मात्रा दिइनेछ ।
एचपिभी खोप दुई मात्रा लगाए पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने डा.गौतमले बताए ।
