प्रधानमन्त्री प्रचण्डको आजबाट चीन भ्रमण सुरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ । अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रचण्ड त्यहाँबाट सिधै आज चीनको हाङजाओ प्रस्थान गर्ने भएका हुन् ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कको स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट चीन प्रस्थान गर्नेछन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेपछि प्रचण्ड त्यहाँ चीन भ्रमणमा जाने औपचारिक कार्यसूची परराष्ट्र मन्त्रालयले बिहीबार मात्रै सार्वजनिक गरेको थियो ।
भ्रमणका क्रममा प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शनिबार भेट गर्ने भएका छन् । १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने र प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट त्यहीँ पुग्ने भएपछि शनिबार उनीहरूबीच भेट हुने भएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई शनिबार बिहान १० बजे हाङजाओस्थित विमानस्थलमा चीनका विदेशमन्त्री वाङ यीले स्वागत गर्नेछन् । त्यसपछि दिउँसो साढे १२ बजे प्रचण्ड र सीबीच भेट हुनेछ ।
उक्त औपचारिक भेटवार्ता सम्पन्न भएसँगै प्रचण्ड राति ८ बजे उदघाटन हुने १९ औँ एसिन खेलकुद समारोहमा सहभागी हुनेछन् । त्यस्तै आइतबार मध्याह्न १२ बजे प्रचण्ड बेइजिङ पुग्ने कार्यसूची छ । बेइजिङ विमानस्थलमा उनलाई चिनियाँ मन्त्रीले स्वागत गर्ने भनिएको छ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी छ्याङबीच औपचारिक द्विपक्षीय भेट सोमबार बिहान १० बजेका लागि तय भएको छ । उनलाई तियानमेन चोकस्थित ‘ग्रेट हल अफ दि पिपुल’ मा स्वागत कार्यक्रम राखिएको छ भने चिनियाँ जनमुक्ति सेनाले प्रचण्डलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीच हुने औपचारिक भेटवार्ताका लागि करिब २ घण्टाको समय निर्धारण गरिएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ । उनको चिन भ्रमण करिब १ साताको हुने जनाइएको छ ।
