वृद्धाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन ५, शुक्रबार ०९:३८

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१, श्यामचेतकी ७० वर्षीया सुनमाया लामाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका ३१ वर्षीय कर्मा छिरिङ र १८ वर्षीय साने भन्ने सुपराज लामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गत भदौ ३० गते बिहान करिव दश बजे सुनमायाको शव आफ्नै घरभित्रको कोठाको बलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो । दुवै कानको च्यातिएको अवस्थामा भएकाले हत्याको आशंका गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई कर्तव्य ज्यान कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।