पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

तु खबर संवाददाता
२०८० आश्विन ५,शुक्रबार ०९:३४

काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । काठमाडौंको बीर अस्पतालमा उपचाररत भट्टको बिहीबार निधन भएको हो ।

स्व.भट्ट क्यान्सर रोगबाट पीडित थिए । डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।

रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । त्यतिबेला मायालु जनवादी मोर्चाको उपाध्यक्ष थिए ।

पछि उनी नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए । २०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।

त्यसपछि उनी चुनावमा होमिएनन् । पछिल्लो समय भने उनी नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत थिए ।