नारी संरक्षण केन्द्र मकवानपुरको नेतृत्व पुनः गुरुङलाई

तु खबर संवाददाता
२०८० आश्विन ४, बिहीबार ०९:४९

मकवानपुर । नारी संरक्षण केन्द्र मकवानपुरको नेतृत्व पुनः दीपा कुमारी गुरुङले पाएकी छन् । बुधबार भएको केन्द्रको २३ औं साधारणसभाबाट गुरुङको नेतृत्वमा ७ सदस्यीय समिति चयन गरिएको हो ।

यस्तै, केन्द्रको उपाध्यक्षमा भिष्मराज सापकोटा, सचिवमा प्रतिकला चौधरी र कोषध्यक्षमा आरती बोजरी चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

संस्थाले महिला र बालबालिकाको संरक्षण, बेचविखन र विभिन्न हिंसाबाट बचाउने तथा शिक्षामा पहुँच पुर्याउने गरी काम गरिरहेको कार्यक्रम संयोजक जेरोम घलेले जानकारी दिए ।

हेटौंडा–१८, हर्नामाडीस्थित आवश्यीय बालगृहमा अहिले १६ जना बालबालिका रहेका छन् । जसमध्ये गत आर्थिक वर्षमा संस्थाले २७ जना बालबालिकामध्ये ११ जना बालबालिकाको पारिवारिक पुर्नमिलन गराएको छ ।

बालगृहमा रहेकाहरु अहिले हेटौंडाका विभिन्न विद्यालयहरुमा अध्ययन गरिरहेको जनाएको छ । संस्थाले यस वर्ष हेटौंडा उपमहानगरभित्रका १० जना र राक्सिराङका ६ महिलालाई आधार सिलाई तालिम प्रदान गरेको छ ।

यस्तै हेटौंडाभित्र रहेका अत्ति विपन्न ४७ जना बालबालिकालाई छात्रावृत्ति वितरण गरेको छ ।

साधारणसभा संस्थाका अध्यक्ष दीपा कुमारी गुरुङको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, बाल संरक्षण सञ्जालको केन्द्रीय अध्यक्ष प्रकाश खतिवडा, माइती नेपाल मकवानपुरकी संयोजक माया लामा, गैर सरकारी महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा र हेटौंडा उपमहानगरपालिको सामाजिक विकास कल्याण विभागका अधिकृत भैरव कुमाल लगायतको उपस्थिति रहेको थियो ।