सशस्त्र प्रहरीद्वारा बागमती नदीबाट एक व्यक्तिको उद्धार

तु खबर संवाददाता
२०८० आश्विन ४,बिहीबार ०८:५०
file-photo

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले गएराति बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित बागमती नदी किनारबाट सोही वडाका सिम्पानी राई टोल बस्ने ४० वर्षीय रामबहादुर लामाको उद्धार गरिएको सशस्त्र प्रहरले जनाएको छ ।

प्रहरीका अनुसार, पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए ।

सो बारे खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङको कमाण्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसीको कमाण्डमा गएको १५ जना सहितको सुरक्षा फौजले रातको समयमा उनको सकुशल उद्धार गरेको हो ।

मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य विधिको प्रयोग गरी उद्धार गरेपश्चात् लामालाई आफन्तको जिम्मा लगाएको जनाइएको छ ।