आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको जनाएको छ ।
जसको प्रभावले हाल देशका अधिकांश भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
