बागमती प्रदेश सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आगामी असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शनिबार बसेको बैठक स्थगित भएको घोषणा गर्दै सो बारे जानकारी गराएका हुन् ।
सभाुमख पाठकका अनुसार, प्रदेश सभाको अर्को बैठक असोज १४ गते बिहान ११ बजे बस्नेछ । बागमती प्रदेश सभाको शनिबार बसेको बैठकले चार वटा विधेयक विभिन्न समितिमा पठाउन स्वीकृती प्रदान गरेको थियो भने पूर्व सभामुख एवम् संविधान सभा सदस्य स्व. सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।
उक्त बैठकमा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनि प्रस्ताव पेश गरेकी थिइन् ।
यसैगरी, उनले आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठको तर्फबाट प्रदेश संचारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि प्रदेश मामिला समितिमा पठाइयोस् भनि प्रस्ताव टेबुल गरेकी थिइन् ।
सो बैठकमा स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० र कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनि प्रस्ताव टेबुल गरेका थिए ।