रेडियो थाहा सञ्चारको नारी रत्न सम्मान तथा दर खाने कार्यक्रम

मकवानपुर । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ एफएफले थाहा नारी रत्न सम्मान तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ ।
मकवानपुरको रेडियो थाहा सञ्चारले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा हिरण्य नेपालका बालिकाहरुसँग दर खाएर तीज विशेष कार्यक्रम मनाएको हो ।
कार्यक्रम बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता एवम् रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
सो क्रममा मन्त्री मोक्तानले तीजमा महिलाहरुले आफुलाई परेको समस्या दिदी बहिनीसँग पोख्ने र त्यसको समाधान खोज्ने अवसर पनि भएको बताइन् । उनले वक्ताहरुले हिन्दु महिलाहरुको महान पर्व तिज भड्किलो, खर्चिलो र देखावटी भन्दा पनि परम्परालाई जोगाने गरी मनाउनुपर्नेमा जोड् दिइन् ।
यस्तै, रेडियोले सो अवसरमा यस वर्षको थाहा नारी रत्नबाट बागमती प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म हेटौंडाका प्रमुख एवम् प्रहरी निरीक्षक चुडा कुमारी खड्कालाई सम्मान गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ की खड्का अन्तराष्ट्रिय भलिवल खेलाडी समेत हुन् ।
खड्का हाल बागमती प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म हेटौंडामा कार्यरत छिन् । सो क्रममा बोल्दै खड्काले खेल क्षेत्रबाट प्रहरी सेवामा रही निकै संघर्ष गरेर अहिलेको अवस्थासम्म आईपुगेको स्मरण गरिन् ।
कार्यक्रममा हेटौंडा–११ की वडाध्यक्ष जुना दाहाल, महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णु कुमारी लामिछाने, हिरण्य नेपालका अध्यक्ष कल्पणा शर्मा, माईती नेपालको कार्यक्रम संयोजक माया लामा, हिमराईट्सका कार्यक्रम संयोजक कुमारी वाईबा, ग्रामीण महिला सेवा केन्द्रका सचिव अर्चला शर्मा, शान्ती फाउण्डेशनका जिल्ला अधिकृत सिता गुरुङ, साना हातहरु नेपालका स्टेशन म्यानेजर डिकम्बर रुपाचा, जनचेतना महिला साकोसका अध्यक्ष जुना दाहाललगायतको आतिथ्यता रहेको थियो ।