पदमपोखरी प्रहरी चौकीको भवन उद्घाटन

तु खबर संवाददाता
२०८० भाद्र २९,शुक्रबार १५:४३

मकवानपुर । मकवानपुरको पदमपोखरी प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले उक्त भवनको उद्घाटन गरेका हुन् ।

सो क्रममा प्रवक्ता श्रेष्ठले बिज्ञान र प्रविधिको जमानामा प्रहरीहरुले पनि सोही अनुरुप अन्तराष्ट्रिय तहको बिज्ञान प्रविधिको प्रयोग गर्न जरुरी रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढगले बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रहरीहरुलाई नागरिक मैत्री बनाउने कुरामा प्रदेश सरकार लागि परिरहेको बताउँदै एउटा हातले मात्र तालि नबज्ने भनेझै नागरिकहरु पनि प्रहरी मैत्री बन्न सक्नुपर्नेमा जोड दिए ।

यस्तै, कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको बताउँदै यहाँ नागरिक र प्रहरीले समन्वय र सहकार्यमा कार्य गर्नुपर्नेमा जोड दिइन् । मन्त्री मोक्तानले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि प्रदेश सरकारले पहल गरिरहेको बताइन् ।

कार्यक्रममा मन्त्रालयका उपसचिव दिपक प्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई, प्रहरी नायब महानिरीक्षक किरण राणा, हेटौंडा–१३ का वडाध्यक्ष पेमा लामा, मकवानपुर प्रहरी प्रमुख सिताराम रिजाल, प्रहरी उपरीक्षक चित्र गुरुङ, राकेश सिंह, सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीलगायतको उपस्थिति रहेको थियो ।

यस्तै, कार्यक्रममा चौकी निर्माणमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड २६ लाख १५ हजार १ सय १७ रुपैयाँ बजेटमा तीन तल्ले प्रहरी चौकीको निर्माण गरिएको हो । १ कठ्ठा ९ धुर क्षेत्रफलमा बनेको प्रहरी चौकी भवनमा महिला र पुरुषका लागि अलग–अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवास रहेका छन् ।